उदयपुरको मस्जिदमा कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति भोक्राहामा भेटिए


इनरुवा, ६ बैशाख । उदयपुरको भुल्केमा रहेको मस्जिदमा भेटिएका कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति सुनसरीको भोक्राहामा फेला परेका छन् ।

कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्ति सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भेटिएका हुन् । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का ४६ वर्षीय व्यक्ति उदयपुरमा संक्रमित पाइएका भारतीय मुस्लिम नागरिकहरुको समूहमा १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ ।

नेपाल मुस्लिम संघका प्रदेश- १ का सभापति हाजी इसराइल मन्सुरीका अनुसार ४६ वर्षीय व्यक्तिको बारेमा स्थानीयवासीले जानकारी दिएका थिए । त्यसपछि उनलाइ प्रहरी सहितको टोलीले स्वास्थ्य परीक्षणसंगै क्वारेन्टाइनका लागि बिराटनगर पठाएको छ ।

घरमा लुकेर बसेको अवस्थामा गाउँलेले सूचना दिएपछि मात्र ४६ वर्षीय व्यक्तिको विषय बाहिरिएको हो । पछिल्लो घटना क्रमले सो क्षेत्रमा अन्य व्यक्ति समेत लुकेर बसेको हुन सक्ने आशंकामा खोजी थालिएको छ ।

यसैबीच, कोरोना संक्रमितको सम्पर्कमा रहेको पाइएका भोक्राहाका व्यक्तिलाई इनरुवा अस्पतालले घर फर्काएको विषयप्रति नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशले आपत्ति जनाएको छ । उदयपुरमा सँगै बसेका व्यक्तिमा कोरोना संक्रमण पाइदा उनीहरुसँगै रहेर फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा नपठाई सामान्य रुपमा लिएर फर्काउनु जायज नभएको अन्सारीको भनाई छ । उनले भाइरस फैलन सक्ने जोखिम बढेको अवस्थामा तत्काल लक्षण नदेखिएको भन्दै फर्काइनु भोलिका लागि सम्भावित जोखिमको कारक बन्न सक्ने बताए ।

उता इनरुवा अस्पतालले भने परिक्षणको क्रममा कुनै शंकास्पद लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै बस्ने गरी घर फर्काएको जानकारी दिएको छ ।Source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button