वीरगञ्ज र उदयपुरको कोरोना संक्रमण खतराको घण्टी हो


केस १ : चैत ३० गते वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तर, अहिलेसम्म उनीहरूको संक्रमणको स्रोत पत्ता लागेको छैन ।

केस २ : शुक्रबार साँझ उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसिरहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भयो । १२ मध्ये एक नेपाली र अरु भारतीय छन् । तर, उनीहरूको पनि संक्रमण स्रोत पत्ता लागेको छैन ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू दुवै केसले अलमलमा छन् र अहिले नै केही भन्न नसकिने बताइरहेका छन् । संक्रमितले सही सूचना नदिएका कारण ट्राभल हिस्ट्री पत्ता लगाउत गाह्रो भएको दुवै केसमा एउटै समानता देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु स्रोतअनुसार उनीहरूमा भाइरसको संक्रमण नयाँ पाइएको छ । उदयपुरमा भेटिएका १२ मध्ये आठ जनामा भाइरस संक्रमण नयाँ हो । स्रोतअनुसार उदयपुरमा भेटिएका बाँकी चार जनामा भने १४ दिनभन्दा अगाडि संक्रमण भएर निको हुने क्रममा रहेको देखिन्छ ।

वीरगञ्जका तीन जनामा पनि संक्रमण नयाँ थियो ।

जीवाणु वैज्ञानिकहरू यस्तो केसलाई ‘एक्टिभ स्ट्रोङ केस’ भन्छन् । मानव शरीरमा भाइरसको संक्रमण भएको सातदेखि १४ दिनको अवधिमा भाइरस एक्टिभ रहन्छ । यो अवस्थामा संक्रमित व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई भाइरस सार्न सक्ने उच्च सम्भावना हुन्छ ।

एक्टिभ केसले अरुलाई सार्न सक्छ

जनस्वास्थ्य विज्ञहरूका अनुसार अति एक्टिभ केसले छिटोभन्दा छिटो र धेरैभन्दा धेरै मानिसलाई संक्रमण गराउन सक्छ । र, संक्रमण भएको अवधिमा उनीहरू सेल्फ क्वारेन्टाइनमा नबसेको भए यस्तो केसले महामारी फैलाउन सक्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर शेरबहादुर पुन यस्ता संक्रमित व्यक्ति अरु मानिसँग प्रत्यक्ष सम्पर्कमा नआए पनि अप्रत्यक्ष रुपमा भाइरस सर्नसक्ने बताउँछन् । उनकाअनुसार संक्रमित व्यक्ति बसेको ठाउँमा भाइरस छोड्न सक्छ । र, त्यही ठाउँमा अर्को मानिस जाँदा भाइरस सर्न सक्छ ।

डाक्टर पुन भन्छन्, ‘उनीहरू नेपालका लागि खतराको घण्टी हुन् । चाँडोभन्दा चाँडो उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरूको खोजी गरेर परीक्षण गर्नुपर्छ ।’

आयातित केस नै हो कि ?

उदयपुरमा भेटिएका संक्रमितलाई विराटनगर लगेर प्रदेश १ सरकारले बनाएको कोरोना विशेष अस्पतालमा राखिएको छ । संक्रमितसँगै आएका चार जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको मस्जिदमा भेटिएका १६ मध्ये १२ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

अहिलेसम्म ट्राभल हिस्ट्री पत्ता लगाउन नसकेकाले उनीहरूको प्रत्यक्ष सम्पर्कमा को आए ? उनीहरू कहाँ गए ? भन्ने एकिन जानकारी पाउन सकेको छैन । उनीहरूमा देखिएको संक्रमण स्रोत पनि पत्ता लगाउन सकिएको छैन ।

कन्ट्याक ट्रेसिङको जिम्मा पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चैत ३० गते संक्रमण पुष्टि भएको वीरगञ्ज–२ छपकैयास्थित मस्जिदमा भेटिएका तीन भारतीयको पनि कन्ट्याक ट्रेसिङ गर्न सकेको छैन ।

महाशाखाका निर्देशक वासुदेव पाण्डे वीरगञ्जको कनेक्सन उदयपुरको केससँग हुनसक्ने बताउँछन् । तर, अहिले नै भन्नसक्ने अवस्था नरहेको उनको कथन छ ।

उनकाअनुसार उदयुपर र वीरगञ्ज दुवै ठाउँको केसलाई अहिलेसम्म आयातित भन्न सकिन्छ । उनी स्पष्टीकरण दिँदै भन्छन्, ‘यदि स्थानीय केस हो भने त संक्रमित भेटिएको ठाउँमा अरु केसहरू भेटिनुपर्ने हो । हामीले त्यहाँ परीक्षण गर्दा संक्रमित नभेटाएकाले दुवै केसलाई स्थानीय भन्न मिल्दैन ।’

उनकाअनुसार वीरगञ्जमा संक्रमित गएका ठाउँहरूमा छ सय जनामा र्‍‍यापिड टेस्ट गर्दा कसैमा पनि एन्टिबडी पोजेटिभ देखिएन । वीरगञ्जका अन्य ठाउँमा अरु छ सय मानिसमा एन्टिबडी जाँच गर्दा पनि कोरोना पोजेटिभ भेटिएन । त्यसैले यो केसलाई आयातित मान्न सकिने बताउँदै उनी भन्छन्, ‘उनीहरूले अहिलेसम्म हामीलाई सही जानकारी दिएका छैनन् । उनीहरूले सही जानकारी नदिए पनि एन्टिबडी टेस्टले त ढाँट्दैन नि ।’

त्यसो भए उनीहरू लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल छिरेका थिए त ? महाशाखाका निर्देशक पाण्डे भन्छन्, ‘कोरोनाको एक्टिभ केस र स्थानीयको एन्टिबडी जाँच गर्दा अन्य संक्रमित नपाएको हुँदा यस्तो आशंका गर्न सकिन्छ । तर, अनुसन्धान नगरी अहिले ठोकुवा गर्न सकिन्न ।’

पाण्डेकाअनुसार गाईघाटमा भेटिएका संक्रमितहरूको कन्ट्याक ट्रेसिङ सुरु भइसकेको छ । तर, उही समस्या दोहोरिएको छ, संक्रमितले सही सूचना नै दिएका छैनन् । भन्छन्, ‘उनीहरूले हामीलाई सत्यतथ्य सूचना दिएका छैनन् ।’ Source:onlinekhabar

Leave a Reply

Your email address will not be published.

Back to top button