वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा थपिए १२९०


५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २९० जना थपिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरु गणनामा छुटेका थिए ।

वुहानले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै तीन हजार ८६९ पुर्‍याएको हो । समग्र संक्रमितको संख्यामा पनि उसले ३२५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या पनि ५० हजार ३३३ पुगेको छ ।

यो संख्या चीनको समग्र संक्रमितको करिब दुईतिहाइ हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् । त्यतिबेला अस्पताल तथा मेडिकलहरुमा बिरामीको अत्यधिक चाप थियो । त्यसैले वास्तविक नतिजामा ढिलाइ, छुट्ने र गलत तथ्यांक दिने क्रम बढेको थियो ।

अहिले सार्वजनिक गरिएको नयाँ तथ्यांक वुहानको महामारी नियन्त्रण तथा रोकथामको तथ्यांकमा जोडिएको छ । साथै दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको अधिकारीहरुले बताएका छन् । यसअघि अस्पतालमा भर्ना भएकाभन्दा बाहेकका बिरामीको मृत्युलाई भने समावेश गरिएको थिएन । साथै केही मेडिकल संस्थाहरुले संक्रमण पुष्टि तथा मृतकको तथ्यांक ढिलो बुझाएका थिए ।

चीनले सार्वजनिक गरेको तथ्यांकमा विश्वभर आशंका उत्पन्न भइरहेको समयमा वुहानले आफ्नो तथ्यांकमा पुनरावलोकन गरेको हो । यसअघि चीनले वास्तविक मृतकको संख्या घटाएको आरोप लाग्दै आएको थियो ।

स्रोत : एपी अनलाइनखबर बाट

Leave a Reply

Your email address will not be published.

Back to top button