वीरगञ्जमा कोरोना पोजेटिभ भेटिएका ३ जनाको ‘ट्राभल हिस्ट्री’- सुनसरीमा २३ दिन बसेका थिए


सुनसरी, ३ वैशाख । वीरगञ्जमा कोरोना पोजेटिभ भेटिएका तीनजना भारतीय नागरिकहरू सबै भन्दा बढी समय सुनसरीमा बसेको तथ्य भेटिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले उनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा सुनसरीको दुहबीस्थित जामे मस्जिद र इनरुवाका ४ वटा मस्जिदमा बसेको तथ्य पाएको हो ।

जसमा उनीहरू सहित रहेको १४ जनाको टोली २०१९ डिसेम्बर १७ दिल्ली हुँदै विराटनगर (जोगवनी) ट्रेन मार्फत आएको देखिन्छ । उक्त टोली डिसेम्बर १८ देखि १९ तारिक विराटनगरको रानी मस्जिदमा बसेका थिए । त्यसपछि २० देखि ३० तारिकमा उनीहरूको सुनसरीको दुहबीस्थित जामे मस्जिदमा १० दिन बिताएको देखिन्छ ।

त्यसपछि २०२० जनवरी १ देखि फेब्रुअरी १३ तारिकसम्म उनीहरू इनरुवाको ३–४ वटा मस्जिदमा बसेको ‘ट्राभल हिस्ट्री’ देखिन्छ । इनरुवामा बसेको विभिन्न मस्जिदको नाम प्रमाणित हुँदै गरेको सुनसरी प्रशासन स्रोतले बताएको छ ।

फेब्रुअरी १४ तारिकदेखि १८ सम्म उनीहरू सप्तरीको इस्तिमामा सहभागी भए । फेब्रुअरी २० देखि मार्च १९ वीरगञ्जको सुनौलीस्थित मस्जिदमा बसेका थिए । २० मार्चमा उनीहरू वीरगञ्ज महानगरपालिका १ को बजार मस्जिदमा गएको देखिन्छ । मार्चकै २१ देखि २६ वीरगञ्ज १ को छपकैयाको मस्जिदमा बसेका थिए ।

मार्च २६ देखि अप्रिल १० तारिकसम्म वीरगञ्ज २ को मक्की जामे मस्जिदमा बसेको देखिन्छ । त्यसको भोलिपल्ट अर्थात् ११ तारिकमा तीनजना नारायणी अस्पतालको आइसोलेसन वार्डमा बसेको देखिन्छ ।

भारत दिल्लीका ४५ वर्षीय, भारत उत्तर प्रदेशका ५५ वर्षीय र भारत दिल्लीकै ३७ वर्षका उनीहरूमा कोरोना भाइरस (कोभिड-१९)सङ्क्रमण भएको पुष्टि भएसँगै उनीहरूको ‘ट्राभल हिस्ट्री’ सँग जोडिएका जिल्ला र स्थानमा सुरक्षा सतर्कता बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सुनसरीको दुहबीको जामे मस्जिदको नाम खुलाएको छ भने इनरुवामा उनीहरू बसेको स्थान भने खुलाउन नसक्दा अन्योल पैदा भएको छ । चैत्र ३० गते उनीहरूको रिर्पोट आउन साथ जिल्ला प्रशासन कार्यालय सुनसरीलाई मौखिक रूपमा जानकारी दिइएको थियो । त्यसको दुई दिन पछि पर्सा प्रशासनले विज्ञप्ति जारी गदै उनीहरू बसेको स्थानको ट्राभल हिस्ट्री सार्वजनिक गरेको थियो ।

सुनसरी प्रशासनले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्लाका सुरक्षा निकाय प्रमुख तथा प्रजिअलाई यस विषयमा सम्पर्क गर्दा फोन नउठेको अवस्था छ ।

वीरगञ्जमा भेटिएका यी तीन भारतीय नागरिकमा कोरोना सङ्क्रमण कहाँबाट भयो ? भारतबाट या नेपालमै ? यो चाहिँ सबैलाई हैरान बनाउने प्रश्न यति बेला बनेको छ । source: news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button