खाडीका देशमा कोरोना : जोखिम मोलेर काम गर्न बाध्य छन् नेपाली श्रमिक


काठमाण्डौ – कोरोना सङ्क्रमण बढ्दै गएपछि यूएईको दुबई सहर लकडाउनमा छ । तर त्यहाँ कार्यरत नेपालका खगेन्द्र खरेललाई भने लकडाउनले छोएको छैन । कोरोनाको डरलाई कोठामै छाडेर उहाँ दिनभरी काममा खट्नुहुन्छ ।

यूएईमा हुन गइरहेको व्यापारिक मेला दुबई एक्स्पोमा काम गर्नुहुन्छ खगेन्द्र । लकडाउन भए पनि दुबई एक्स्पोमा काम भने नियमित चलिरहेको छ । त्यति ठूलो परियोजनामा हजारौं मानिस काममा खटिएका छन् । त्यही भिडमा मिसिनुपर्छ खगेन्द्रले पनि । यसले गर्दा कतै कोरोनाको सङ्क्रमणले छोइहाल्छ कि भन्ने डर छ उहाँलाई ।

‘हजारौं मान्छे सँगै काम गर्नुपर्ने अवस्था छ, यस्तोमा त नलागेको रोग पनि लाग्ने जोखिम हुन्छ’ उहाँ भन्नुहुन्छ, ‘यो भन्दा त सरकारले हामीलाई सुरक्षित तरिकाले नेपाल फर्कने वातावरण मिलाइदिए हुन्थ्यो ।’

कोरोना सङ्क्रमण फैलिएसँगै विश्वका धेरै देशहरु लकडाउनमा छन् । लकडाउनका कारण कम्पनी तथा होटेल रेस्टुरेन्टहरु बन्द भएका छन् । तर कतिपय ठाउँमा भने कम्पनीहरु नियमित चलिरहेकै छन् । कोरोना सङ्क्रमण फैलिरहेको बेला पनि कम्पनीमा नियमित काम हुँदा मलेसिया लगायत खाडीका देशमा रहेका लाखौं नेपाली कामदार कोरोना सङ्क्रमणको जोखिममा छन् । एकातर्फ कम्पनीले काम जारी राख्नु र अर्कोतर्फ सुरक्षाका कुनै उपाय नअपनाउनुले आफूलाई पनि सङ्क्रमण हुन्छ कि भन्ने डर त्यहाँ कार्यरत नेपालीमा देखिन्छ ।

साउदी अरबमा काम गर्ने प्रकाश पौडेललाई पनि यस्तै डर छ । त्यहाँका धेरै कम्पनी बन्द भए पनि उहाँको कम्पनी बन्द भएको छैन । सबै कम्पनीहरु बन्द भएको अवस्थामा आफू कार्यरत कम्पनी बन्दा नहुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको उहाँ बताउनुहुन्छ ।

‘न त कम्पनीको काम बन्द छ, न त स्वास्थ्य सतर्कता नै अपनाएको छ, एकदमै खतरा स्थिति छ’ प्रकाश त्यहाँ डरैडरमा काम गरिरहनुभएको दुखेसो पोख्नुहुन्छ । 

कुवेतबाट ईश्वर फौजामगरको गुनासो पनि त्यस्तै छ । अरु कम्पनीहरु बन्द भए पनि उहाँ काम गर्ने कम्पनी बन्द भएको छैन । कोठाबाट काम गर्ने ठाउँसम्म ओहोरदोहोर गर्दा नै कतै कोरोना भाइरसले छोइहाल्छ कि भन्ने चिन्ताले पिरोल्छ । एकतर्फ विदेश आउँदा लागेको साहुको ऋणको भारी छ भने अर्कोतर्फ कोरोनाबाट आफ्नै ज्यान जोगाउने चिन्ता ।

‘यतिबेला मलाई साहुको ऋण तिर्न कोरोना लाग्न दिउँ कि कोरोनासँग बच्न साहुको ऋण नतिरौं भन्ने दोधारमा छु’ उहाँ भन्नुहुन्छ ।

सुरक्षागार्ड नै असुरक्षित

लकडाउनको बेला धेरै कम्पनी र होटेल रेस्टुरेन्टहरु बन्द भए पनि सुरक्षा गार्डको काम भने रोकिएको छैन । मलेसिया लगायत खाडीका देशहरुमा पनि अवस्था यही छ । बन्द भएका कम्पनी र संस्थालाई सुरक्षा दिन अहोरात्र खटिरहेका हुन्छन्, सुरक्षा गार्डहरु । कतिपय नेपाली सुरक्षागार्डको रुपमा ती देशमा कार्यरत छन् । 
भागिश्वर सुनुवार पनि मलेशियाको सेलाङ्गरमा सुरक्षागार्डको काम गर्नुहुन्छ । जसलाई कोरोनाको अत्यन्त सम्वेदनशिल ठाउँ मानिन्छ । एउटा सर्जिकल मास्कको भरमा दिनहुँ थरीथरीका मान्छेहरुसँग साक्षात्कार हुनुपर्दा कोरोना सङ्क्रमणको जोखिम बढेको उहाँ बताउनुहुन्छ ।

‘बिना कुनै सुरक्षा फ्रन्टलाइनमा जाने भनेको हामीहरु नै हो, हामीहरुको स्वास्थ्य सुरक्षाको बारेमा कसले हेर्ने ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।

यस्तै गुल्मीका बिनोद अधिकारी पनि यूएईमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । ‘अहिलेको अवस्थामा कम्पनीको बिदामा कोठामै बस्न पाउनेहरु त निकै सुरक्षित हुनुहुन्छ, हामी सुरक्षागार्डलाई चाहिँ जोखिम छ’ उहाँ आफ्नो दुखेसो पोख्नुहुन्छ ।

सङ्क्रमणको जोखिममा सुपरमार्केटमा काम गर्नेहरु 

खाडी तथा मलेसियाका सुपरमार्केट तथा ग्रोसरी स्टोरमा धेरै नेपाली श्रमिकहरु कार्यरत छन् । लकडाउन भए पनि प्रायः दैनिक उपभोग्य सामान तथा खाद्यान्नका पसलहरु खुला नै हुने गर्छन् । सुरक्षा सावधानीका उपाय अपनाइएन भने यस्ता ठाउँहरुमा कोरोना सङ्क्रमण फैलिने जोखिम हुन्छ । 

मलेसियाको एउटा सुपरमार्केटमा कार्यरत सागर समर्पणलाई पनि यही चिन्ताले पिरोलेको छ । आफू कार्यरत सुपरमार्केटमा कुनै सरक्षाका उपाय नअपनाएकाले कोरोना सङ्क्रमण हुन्छ कि भन्ने उहाँलाई डर छ ।

‘हरेक दिन हजारौं ग्राहक आउँछन्, हरेकसँग नजिकिएर बोल्नुपर्छ, तर कुनै स्वास्थ्य सुरक्षाको उपाय अपनाएको छैन’ उहाँ भन्नुहुन्छ, ‘काममा नजाउँ भने जागिर जाने चिन्ता, जाउँ भने कोरोना लाग्छ कि भन्ने डर छ ।’

आफूजस्तै दुईसय भन्दा धेरै नेपाली त्यही सुपरमार्केटका विभिन्न शाखामा काम गरिरहेको भन्दै सबै कोरोना सङ्क्रमणको जोखिममा रहेको उहाँ बताउनुहुन्छ । 

आफू सुरक्षित भएर पनि के गर्ने !

चारैतिर कोरोना सङ्क्रमण फैलिरहेको बेला एकजना सुरक्षित भएर मात्र हुँदैन । सबै सतर्क र सुरक्षित हुनुपर्छ । सबै घरभित्रै बस्नुपर्छ । तर खाडी देशमा कमाउन गएका नेपालीहरुमा भने यो कुरा लागू नहुन सक्छ । एउटै कोठामा तथा आवासीय भवनहरुमा धेरै श्रमिकहरु सँगै बस्छन् । कतिको कम्पनी बन्द भएर कोठामै बसिरहेका छन् भने कतिपय सधैंझैं अहिले पनि काममा खटिरहेका छन् । 

दुबईको एउटा कम्पनीमा कार्यरत जितु पाख्रिन चारजना साथीहरुसँग एउटै कोठामा बस्नुहुन्छ । सबै जना अलगअलग ठाउँमा काम गरेर आउने हुँदा एउटालाई संक्रमण भयो भने सबैलाइ हुन्छ कि भन्ने उहाँलाई चिन्ता छ । 

‘सबैले कोठामै बस्न पाए त हुन्थ्यो तर कोही काममा जान्छन् कोही कोठामै हुन्छन्, यसले गर्दा एउटालाई रोग लाग्यो भने सबैलाई सर्ने डर छ’, जितुलाई जस्तै धेरै नेपाली श्रमिकलाई यस्तै चिन्ता छ । Source:Ujyaaloonline

Leave a Reply

Your email address will not be published.

Back to top button