एक सातादेखि भोकै हिँडेका १२ मजदुरलाई प्रहरी जवान नवीन दाहालले खुवाए खाना


उदयपुर, २५ चैत । अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका जवान नवीन दाहालले सोलुखुम्बुको सोलु बेनी हाइड्रो पावरमा काम गर्ने सप्तरी र सिरहा घर भएका १२ मजदुरलाई खाना खुवाउनुभएको छ ।सोलुखुम्बुबाट हिँडेरै उदयपुरको घुर्मीसम्म पुगेका ती मजदुरहरुलाई चेकजाँचको क्रममा एक सातादेखि खाना खान नपाएको थाहा पाएपछि नवीन दाहालले चिउरा, चाउचाउ, दालमोठ र पानी खुवाउनुभएको हो ।

उनीहरु सोमबारका दिन घुर्मीबाट भने अनुमति पास लिएको युपी ११ टी ५०६८ नम्बरको ट्रकमा भोकभोकै कटारी आइपुगेका थिए ।सोलुखुम्बु र ओखलढुंगाका सबै होटल, पसलहरु बन्द रहेकाले उनीहरु एकसातादेखि भोकभोकै पैदलै हिँडेर घुर्मी पुगेको र घुर्मीदेखि ट्रकमा कटारी आइपुगेको बताएका थिए । पैदल हिंड्दा हिंड्दा खुट्टा सुन्निएको अवस्थामा आइपुगेका उनीहरुलाई प्रहरी जवान नवीन दाहालले मानवीय नाताले खाना खुवाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ट्रकको ढालामा आएका उनीहरुलाई सोधखोज गर्दा एक सातादेखि खाना नखाई आइपुगेको बताएपछि आफूले चिउरा, खाजा ख्वाएँ ।’

Leave a Reply

Your email address will not be published.

Back to top button