सबै विद्यालय एक साता बन्द गर्न नगरपालिकाको निर्देशन

काभ्रे : धुलिखेल नगरपालिकाले सबै विद्यालयहरू एकसाता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले आज एक सूचना जारी गर्दै भोलीदेखि २१ गतेसम्म विद्यालय बन्द रहने बताउनुभएको हो ।

आजदेखि परेको पानीले चिसो निकै बढेको र बिद्यालय उमेरका बालबालिकालाई स्वास्थ्य समस्या आउन सक्ने भएकाले एक साता पठनपाठन स्थगित गर्न नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई निर्देशन गरिएको छ । नगरपालिकाले कतिपय विद्यालयमा सञ्चालन भैरहेको त्रैमासिक परीक्षा समेत रोक्न र विद्यालय खुलेपछि लिन भनेको छ । नगरपालिकाले जाडो बिदाको रूपमा एकसाता पठनपाठन स्थगित गर्न भनेको हो ।

त्यस्तै,  पुसको कठ्याङ्ग्रिँदो जाडोमा बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरू खोलाछेउको चौरमा बसेर पढ्न बाध्य छन् । कात्तिक पहिलो साताको बेमौसमी वर्षापछिको पहिरोले विद्यालय भवन भत्काएपछि अहिले भवन अभावमा बालबालिका चिसो चौरमा बसेर पढ्न बाध्य भएका हुन् । ‘पहिरोले आठकोठे ३ वटा भवन सबै ध्वस्त पार्‍यो,’ प्रधानाध्यापक निर्मला चन्दले भनिन्, ‘हामी अहिले धेरै समस्यामा परेका छौं । अन्त पठनपाठन गराउने ठाउँ नै छैन । खोलाको बगरमा लगेर पढाइरहेका छौं ।’

चिसोले गर्दा विद्यार्थीहरू बिरामी भइरहेको उनले सुनाइन् । निमोनिया, रुघाखोकी र ज्वरोले विद्यार्थीलाई सताउने गरेको उनले बताइन् । ‘पहिलेको विद्यालय क्षेत्रभन्दा १ किलोमिटर टाढा लगेर विद्यार्थी पढाइरहेका छौं,’ उनले भनिन्, ‘अन्त ठाउँ नै छैन । बबनखेत खोलाको छेउमै चौरमा राखेर विद्यालय सञ्चालन गरेका छौं ।’ अहिलेसम्म कुनै ठाउँबाट पनि विद्यालय पुनर्निर्माणका लागि कुनै पहल नभएको उनले गुनासो गरिन् । ‘बादल लागेर चिसो बढेको दिन झन् धेरै समस्या झेल्नुपर्छ । पानी परेको दिन विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भनिन् । पहिरोले विद्यालयका सबै कागजात नष्ट गरेको उनले सुनाइन् ।

पञ्चेश्वर–२ मा रहेको भरकोटी आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले बनाइदिएको दुईकोठे भवन बाढीले बगाएपछि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक झुपरसिंह मंगोलाले बताए । ‘विद्यार्थीहरूलाई कहिले चौरमा त कहिले दुईवटा कक्षाका विद्यार्थीलाई एकै कक्षामा राखेर पढाइरहेका छौं,’ उनले भने, ‘यसरी पढाउँदा कसरी गुणस्तर कायम हुन्छ र ?’

Leave a Reply

Your email address will not be published.

Back to top button