कांग्रेसको महामन्त्री बनेका गगन र विश्वप्रकाशले कति ल्याए मत ?

काठमाडौ । नेपाली कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन्। मतगणना सुरु भए देखि नै अग्रता लिएका गगनले सबै भन्दा बढी मत ल्याएका छन् । उनलाई सुरु देखि नै पछ्याइरहेका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए । थापाले ३ हजार २३ मत प्राप्त गरे भने शर्माले १९ सय ८४ मत पाए । कुल ४ हजार ६८२ मत खसेको थियो।

गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन्। विश्व प्रकाश शर्मा संस्थापन पक्षवाट महामन्त्रीको उम्मेदवारी दिन चाहन्थे तर देउवाले आफ्नो प्यानलमा राखेनन् । गगन सुरु देखि नै संस्थापन पक्षको विरोधमा थिए । थापाले भने मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए। शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो।

महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले १५ सय ५०, प्रदिप पौडेलले १४ सय ९, डा। मिनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे। यस्तै, महामन्त्रीका अर्का उम्मेदवार राजारामले १०७ मत पाए।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा। राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन्। यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published.

Back to top button