सुदूरपश्चिममाथि प्रदेश–२ को रोमाञ्चक जित, आदिलले गरे छक्काको वर्षा

काठमाडौंः वाई–वाई एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश–२ ले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको म्याचमा सुदूरपश्चिमलाई २ विकेटले हराउँदै प्रदेश–२ ले प्रतियोगितामा सुखद् सरुवात गरेको हो।

सुदूरपश्चिमले दिएको २ सय ९१ रनको लक्ष्य प्रदेश–२ ले ४९.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो।

प्रदेश २ को जितमा आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले ४३ बलमा ६ छक्का र ७ चौकासहित अविजित ८७ रन बनाए। उनी आठौं नम्बरमा ब्याटिङमा आएका थिए।

त्यस्तै, अमित यादवले ४९, गुल्शन झाले ४६, रोहन बिक २३, सन्तोष कार्की २१, आशिस झा १६, कप्तान विवेक यादव १४, सम्सद मुन्सारी ७ र तृतराज दास २ रनमा आउट हुँदा प्रदीप पासवान ९ रनमा अविजित रहे।

बलिङमा शेर मल्ल, नरेन्द्र साउँदले ३–३ तथा लोकेश बम र हेमन्त धामीले १–१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको सुदूरपश्चिमले ४१.४ ओभरमा अलआउट हुँदै २ सय ९० रन बनायो ।

उसका लागि अर्जुन साउँदले शतकीय पारी खेले। अर्जुनले ८५ बलमा १४ चौका र पाँच छक्कासहित १ सय १६ रनको योगदान दिए।

जारी प्रतियोगितामा शतक प्रहार गर्ने साउद पहिलो खेलाडी बनेका छन्। साउँदले ७६ बलमा शतक पूरा गरेका थिए।

यस्तै, लोकेश बलमे उत्कृष्ट ब्याटिङ गरे। लोकेशले ७३ बलमा १३ चौका र एक छक्काको सहयोगमा ८१ रन बनाए। यसैगरी नरेश भट्टले ३०, बसन्त कार्कीले २७ र गजेन्द्र बोहराले १६ रन बनाए ।

बलिङमा प्रदीप पासवानले ३, कप्तान विवेक यादव, अजय यादवले २–२, आदिल अन्सारी र तृतराज दासले १–१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker