नेपालको अर्को शानदार जित, रोचक बन्यो अंक तालिका

काठमाडौंः नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा दोस्रो जित निकालेको छ। बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि इन्दु बर्माले नटआउट १३, कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाउँदा सीता राना मगर शून्य रनमा आउट भइन्।

बलिङमा मारिया जसवीले १ विकेट लिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा अलआउट हुँदै २७ रन बनायो।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन बनाइन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। उसका ८ खेलाडी शून्य रनमा आउट भए।

कुवेतलाई सस्तैमा समेट्न संगिता राई र रुविना क्षेत्रीले तीन–तीन विकेट हात पारिन्। यस्तै, सरस्वती कुमारी चौधरी र करुण भण्डारीले एक–एक विकेट लिइन्।

यस जितसँगै नेपाली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले तीन खेलमा ४ अंक जोडेको छ। यूएईलाई नेट रन रेटमा पछि पार्दै नेपाल शीर्ष स्थानमा उक्लिएको हो।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो।

कुवेतलाई हराएसँगै नेपालले विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना थप बलियो बनाएको छ। कुवेत तीनै म्याचमा पराजित भएको छ। यसअघि कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले हारेको थियो।

प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौ खेल आइतबार यूएईविरुद्ध खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker