सर्यो आइपीएलको मिति

काठमाडौं– बढ्दो कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) को मिति सरेको छ ।
चैत १६ देखि सुरु हुने भनिए पनि कोरोनाको जोखिम बढेपछि आइपीएलको मिति सार्नु परेको हो ।
अब १३ औं संस्करणको आइपीएल बैशाख ३ गतेदेखि सुरु हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार आसन्न आइपीएलका म्याच दर्शक बिनाको स्टेडियममा हुने छन् ।
यसअघि भारत सरकारले अप्रिल १५ सम्म विदेशीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो । जसमा आइपीएल खेल्ने विदेशी खेलाडीसमेत पर्ने छन् ।
आइपीएल सरेपछि भने अब विदेशी खेलाडीले पनि आइपीएल खेल्ने सम्भावना बढेको छ । १३ औं संस्करणको आइपीएलमा पनि ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।