गिजामा संक्रमण भएकी छात्रा अञ्जलीका लागि विद्यार्थीकै हातेमालो अभियान


बुटवल, २७ फागुन । गिजामा संक्रमण भएपछि ४ महिनाअघि अप्रेसन गरिएको अञ्जली जिसीको सहयोगार्थ हरैया बहुमुखी क्याम्पस रुपन्देहीका विद्यार्थीहरुको ‘विद्यार्थीका लागि विद्यार्थीकै हातेमालोअभियान’ सञ्चालन गरेका छन् ।

हरैया बहुमुखी क्याम्पसको नेतृत्वमा कञ्चन गाउँपालिका- ५ स्थित सरस्वती माविमा कक्षा ७ मा अध्ययनरत अञ्जली जिसीको उपचारका लागि सहयोग संकलन गर्ने उद्देश्यले हिजो कञ्चन गापा- ३ हरैया बजारमा मःम, फुल्की बेचेर रकम संकलन गरिएको छ ।

जिसीको गिजामा संक्रमण देखिएपछि ४ महिनाअघि मात्रै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि रोग निको हुनुको सट्टा झन् विकराल बन्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारमा समस्या भएपछि क्याम्पसका विद्यार्थीहरुले नौलो किसिमको कार्यक्रम गरेर सहयोग संकलन गरेका हुन् । ‘चन्दा संकलन गर्ने पुरानो विधिलाई परिमार्जन गर्न पनि हामीले फरक प्रकृतिको कार्यक्रम राख्यौँ,’ अभियानका संयोजक एवं हरैया बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रकाश उपाध्याय पौडेलल भन्नुभयो ।

‘एउटा विद्यार्थीलाई दु:ख पर्दा अर्को विद्यार्थीले काँध थाप्नु विद्यार्थी एकताको प्रतिविम्ब हो । हामीले जिसीको अवस्थामा राखेर कल्पना गर्यौं, भयावहको स्थिति देखेर बडो चिन्तित भयौँ र विद्यार्थीहरुको छलफलबाट अभियान सञ्चालन गर्ने निर्णय गर्यौँ,’ उहाँले भन्नुभयो ।

अभियानबाट हालसम्म ६५ हजार ५ सय ८५ रुपैँया संकलन भएको अभियानका संयोजकले जानकारी दिनुभयो । ‘हामीले ५० हजार सम्म संकलन गर्न सक्छौँ कि भनेर अपेक्षा गरेका थियौँ,’ यसै अभियानका अभियन्ता सुनिल रानाले बताउनुभयो ।

अभियन्ता सुनिता भारतीले “विद्यार्थीको यत्रो उपस्थिति हुन्छ भनेर हामीले अन्दाज गरेका थिएनौँ । यो अभियानले हामीलाई अझै उर्जावान् बनाएको छ ।

सरकारले शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी लिनुपर्ने ठाँउमा विद्यार्थीले नै एक दिनको छाक काटेर सहयोग संकलन गर्नुपरेको अवस्थालाई उद्धृत गर्दै अर्का अभियान्ता सुवास पौडेलले सरकार गैरजिम्मेवार बनेको गुनासो गर्नुभयो । Source:News24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button