ट्रिपरको ठक्करबाट २ जनाको मृत्यु भएपछि मोरङको पुष्पलाल विराटचोक सडकखण्ड तनावग्रस्त


विराटनगर, २१ फागुन । ट्रिपर आतंक रोक्नु पर्ने माग गर्दै मोरङको पुष्पलाल विराटचोक सडकखण्ड स्थानीयले अवरुद्ध गरेका छन् । गए राति सो सडक खण्डको विराटनगर महानगरपालिका वडा नं. १९ मा विपरित दिशाबाट आउदैगरेको ट्रिपरले अटोरिक्सालाई ठक्कर दिदा २ जनाको घटनास्थल मै मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

सो घटनामा मोरङको ग्रामथान गाउँपालिका वडा नंं २ का अटो चालक बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले ट्रिपर जलाउनुका साथै बाटो अवरुद्ध पारेपछि स्थिति तनावपूर्ण रहेको छ भने स्थानीयले प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले पीडितलाई क्षतिपूर्ति र पुष्पलाल विराट चोक मार्गमा टिपरलाई प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले सो सडक खण्डमा ट्रिपरको ठक्करबाट धेरै जनाले ज्यान गुमाईसकेको हुनाले ट्रिपर चल्न नदिने भन्दै जलिरहेको ट्रिपरमा ढुंगा मुढा समेत गरेका छन् । ट्रिपर चालक हरेराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button