चार करोड लगानीमा सामूहिक भैंसीपालन, दैनिक आठसय लिटर दूध

प्रकाशचन्द्र भट्टराई, दमौली । व्यास नपा–१ हाइस्कुलटारमा चार करोड रुपियाँको लगानीमा सामूहिक भैंसीपालन गरिएको छ । सोही वडाका चार जना मिलेर सेती मादी नदीको किनारको जग्गामा जलबाराही पशुपन्छी फार्म सञ्चालन गरि दुई वर्ष अघिबाट भैंसीपालन गरेका हुन् । दुई वर्ष अघि सुरु गरिएको उक्त फार्ममा अहिले साना–ठूला गरी ११२ वटा भैसी छन् । तीमध्ये आधाले दूध दिन्छ भने २१ व्टा भदौ भित्रमा ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक आठ सय लिटर दूध उत्पादन हुने फर्म सञ्चालक शर्मिला अधिकारीले बताउनुभयो । भैंसी पालनमा सबै आफन्तहरु संलग्न भएको अधिकारीले बताउनुभयो ।
यसो गर्दा सबैमा आत्मीयता र अपनत्वको भावना जाग्ने अधिकारीले बताउनुभयो। भैंसीपालनमा जग्गा सहित चारकरोड लगानी पुगिसकेको छ। भंैसी खरिद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणको लागि मात्रै २ करोड ८०लाख रुपियाँ लगानी भएको अधिकारीले बताउनुभयो । अधिकारीका श्रीमान् भने हाल वैशिक रोगजारीको क्रममा दुबईमा हुनु हुन्छ । श्रीमान विदेशमा भए पनि आफु घरमा त्यसै बस्नुहुँदैन भन्ने ठानेर आफन्तहरुलाई सहमत गराई भैंसी पालनमा लागेको उहाँले बताउनु भयो । फार्मका अर्का सञ्चालक कृष्ण भण्डारीले दूध विक्रीबाट दैनिक ८० हजार रुपियाँ आम्दानी हुने बताउनुभयो । सबै दूध फार्मबाट नै विक्री हुने भण्डारीले बताउनुभयो ।
‘बिहान ५ नबज्दै स्थानीय बासिन्दाहरु दूध लिन फार्ममा आइसक्नु हुन्छ ।’ भण्डारीले भन्नु भयो ‘शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई दमौली बजारबाट समेत दूध लिन आउनुहुन्छ ।’ अहिलेसम्म आफूहरुले बाहिरको डेरीलाई दूध विक्री गर्नु नपरेको भण्डारीले बताउनुभयो । भैंसीपालनमा यति धेरै लगानी भइसके पनि कुनै पनि तहको सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाईएको अधिकारीले बताउनुभयो । अनुदानका लागि प्रदेश र सङ्घ सरकारमा फारम भरे पनि अहिलेसम्म कोही पनि अनुगनम तथा निरीक्षणको लागि नआएको उहाँले बताउनुभयो ।
‘हुन त राज्यले अनुदान देला भनेर भैंसीपालन गरेको हैन’ अधिकारीले भन्नुभयो ‘तर पनि दुई चार वटा मात्र भैंसी पाल्नेले पनि अनुदान लिएको सुनिन्छ तर हाम्रो यति ठूलो फार्ममा अहिलेसम्म सरकारका मान्छेहरु हेर्नसम्म आएका छैनन् ।’ भैसीको लागि दाना र चोकरहरु सबै चितवनबाट ल्याउने भण्डारीले जानकारी दिनुभयो । दैनिक १५ बोरा भुस्सा र चार बोरा दाना खपत हुने उहाँले जानकारी दिनुभयो । भैंसीलाई खुवाउनका लागि व्यास नपा १३ को पोखरी भन्ज्याङमा २३ रोपनी र व्यास नपा १० को निर्बुमा ४५ रोपनी जग्गामा घाँस खेती गरिएको छ । भैंसीबाट निस्कने मलमूत्र कृषकले सुन्तला र कागती खेतीका लागि लैजाने गरेका छन् ।