विश्वकप फुटबल छनोट : चाइनीज ताइपेईबिरुद्ध नेपालको शानदार जित


फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अन्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो ।

दोस्रो हाफमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामाको स्थानमा मनिष डाँगीलाई मैदान प्रवेश गराएका थिए । ५२ औं मिनेटमा मनिष नै अबध भएको आ क्रमणमा सन्तोषले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ६६ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर ताइपेइले प्राप्त फ्रिकिक वालमा लाग्दा नेपालको अग्रता कायम रहयो ।

खेलको ८० औं मिनेटमा मनिष डाँगीले एकल प्रयासमा बल अघि बढाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २-० ले अघि बढाएका थिए ।

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट आ क्रमणमा दुई परिवर्तन गरेका थिए । नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामाले टोलीमा स्थान बनाए । गोलरक्षक किरण चेम्जोङ र सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाए ।

लेफ्ट ब्याकमा सुमन अर्याल तथा राइट ब्याकमा गौतम श्रेष्ठले दीनेश राजवंशीभन्दा अघि रहेर सुरुवात गरेका छन् । मिडफिल्डमा पुजन उपरकोटीसँग सन्तोष तामाङ र सुमन लामा तथा आक्रमणमा अन्जन विष्टलाई आशिष र सुनिल बलले साथ दिएका छन् ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन । अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

इराकसित मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी रहनुभएको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close