झापामा भोलिदेखि निषेधाज्ञा


झापा । कोरोना संक्रमण तीब्र रूपमा बढ्दै गएपछि झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को अहिले भर्खरै सम्पन्न बैठकमा भोलिदेखि पूर्णरुपमा निषेधाज्ञा लगाउने विषयमा निर्णय भएको हो ।

झापामा सोमबारदेखि आंशिकरुपमा निषेधाज्ञा लगाइएको थियो । बैठकमा सहभागी डीसीसीएमसीका सदस्य तथा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलका अनुसार भोलि बुधबार राति १२ बजेदेखि सुरू हुने पूर्ण निषेधाज्ञा वैशाख मसान्तसम्म रहनेछ ।

आंशिक निषेधाज्ञामा विहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात सञ्चालन भइरहेको छ । अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल, बजार, यातायात पूर्ण रुपमा बन्द गरिने छ ।

पछिल्लो समय झापामा कोरोना संक्रमण भयावह बन्दै गएपछि थप सतर्कता अपनाउन डीसीसीएमसीको बैठकले बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको जनाएको छ ।

झापामा आज मात्र १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

झापामा कुल संक्रमितको संख्या ५ हजार ४२२ पुगेको छ । आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको भने कुल मृत्यु हुनेको संख्या १३६ पुगेको छ । Source:news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close