पाँच छोरीले बुवाको पार्थिव शरीर बोकेर घाट पुग्दा..

धनुषा / बुवाको निधनपछि पार्थिव शरीर बोकेर पाँच छोरीले दाहसंस्कारका स्थल पुर्याएका छन् । मंगलबार धनुषाको सबैला नगरपालिका २ का रामनारायण यादवको निधन भयो।उनी नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत थिए। उनको निधनपछि पार्थिव शरीर पाँच छोरीले काँधमा बोकेर दाहसंस्कार गर्न खोलासम्म पुर्याएका हुन्। छोरीले बुवाको पार्थिव शरीर बोकेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। अहिले उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
हिन्दु तथा मधेसी समाजमा अहिले पनि कसैको निधन भएमा छोरी दाहसंस्कार स्थलसम्म पुग्ने चलन छैन। महिलालाई बाटोबाटै फर्काइन्छ। तर, पुरानो चलनलाई चुनौती दिँदै बुवाको शव बोकेर छोरी दाहसंस्कार स्थलसम्म पुग्नुलाई महिला सशक्तीकरणको रूपमा विश्लेषण सामाजिक संजालमा गरिँदैछ।
रामनारायणको निधन भएपछि दाहसंस्कार कसरी गर्ने विषयमा गाउँमा छलफल नै भयो।
छोरा नभएकाले रामनारायणको पार्थिव शरीर दाहसंस्कार स्थलसम्म छोरीले नै पुर्याउने निष्कर्ष निकालियो। पछि छोरीहरूले समेत चासो देखाएर उनीहरू आफैँ दाहसंस्कार गर्न बुवाको पार्थिव शरीर बोक्न तयार भए। जेठी छोरी ४० वर्षीया नेपुर यादव, माइली छोरी ३७ वर्षीया राजदेवी यादव, साहिँली छोरी ३५ वर्षीया प्रमिला यादव, काहिँली छोरी ३२ वर्षीया अनिता यादव र कान्छी छोरी ३० वर्षीया गोरकी यादवले बुवाको पार्थिव शरीर बोकेर दाहसंस्कार स्थलसम्म पुर्याएका थिए। पुर्बेलीन्युज बाट