प्रधानमन्त्री ओलीद्वारा काठमाडौं उपत्यकामा भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ (भिडियो सहित)


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यकामा भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ गरेका छन् । सोमबार बिहान महाराजगन्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा भूमिगत प्रणालीबाट विद्युत वितरण गर्ने तयारी थालेको हो । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भूमिगत विद्युत वितरणबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

महाराजगञ्जअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने र २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने प्राधिकरणले जनाएको छ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने जनाइएको छ। ती क्षेत्रमा करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button