सन्दीपले एक विकेट बराबर ८८४८ रुपैयाँ क्रिकेट रंगशालालाई सहयोग गर्ने


काठमाडौंः नेपाली क्रिकेट टीमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले यही सातादेखि सुरु हुने अमेरिका र ओमानसँगको सिरिजका क्रममा आफूले लिने हरेक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

आफ्नो अफिसियल फेसबुक पेजमार्फत सन्दीपले सिरिजमा आफूले लिने विकेट बराबर सगरमाथाको उचाई बराबरको सहयोग निर्माणाधिन रंगशालालाई सहयोग गर्ने बताएका हुन् । सिमित भौतिक संरचनामा नेपाली खेलाडीले क्रिकेट खेल्नुपर्ने अवस्था अन्त्यका लागि बन्न लागेको सुबिधा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट मैदानमा आफ्नो पनि सहयोग होस भन्ने उदेश्यले आफुले सहयोग गर्न लागेको उनले बताएका छन् ।

नेपाली क्रिकेटको भविश्यका लागि आफूले पनि केही सपना देखेको बताउँदै सन्दीपले युवा पुस्ताको भविश्य र नेपाली क्रिकेटलाई थप उचाई दिन सबैको सहयोग र सद्भावको खाँचो रहेको समेत उल्लेख गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा ३ अर्बको लागतमा बहुउपयोगी अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गरेका छन् । सोही मैदान निर्माण सहयोगार्थ आजबाट महायज्ञको पनि आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्ने छन् ।

क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्ने छन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ ।

कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो । त्यसको चार दिनपछि काम सुरु भयो । जेठ १५ मा केही स्थानीय आक्रमणमा उत्रिएपछि ठप्प भएको काम ३ महिनापछि भदौदेखि सुरु भएको हो ।

काँसघारी सम्याएर निर्माण कार्य सुरु भएको डेढ महिना भएको छ । क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर ‘नमूना नेपाल’ निर्माणको महाअभियान थाँती राखी रंगशाला निर्माण सुरु गरेको फाउन्डेसनले अवरोधबीच आफ्नो अभियान स्थगित गर्न सकेन ।

६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र त्यसको २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । एक वर्ष बितिसकेको छ । असोजमा मात्र डीपीआर सार्वजनिक गरिएको थियो र मंसिरदेखि यहाँ युद्धस्तरमा काम सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published.

Back to top button