न्यूजिल्याण्डसँगको टी–२० सिरिज भारतद्वारा क्लिन स्विप, रच्यो नयाँ इतिहास

काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ । अन्तिम खेलमा न्यूजिल्याण्डलाई ७ रनले हराउँदै भारतले पाँच खेलको सिरिज ५–० ले ‘क्लिन स्विप’ गरेको हो । योसँगै भारतले इतिहास रचेको छ । भारतले पहिलोपटक न्यूजिल्याण्डमा टी–२० सिरिज ‘क्लिन स्विप’ गर्दै इतिहास रचेको हो ।
सिरिजको अन्तिम खेलमा भारतले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो । उसका लागि रस टेल र टिम सेफर्टले अर्धशतक बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । टेलरले आज ५३ र सेफर्टले ५० रनको योगदान दिए ।
अन्य खेलाडीको ब्याटिङ भने आज सन्तोषजनक रहेन । बलिङमा भारतीय टीमका जसप्रीत बुमराहले ३, शार्दुल ठाकुर, नवदीप सैनीले २–२ र वासिङटन सुन्दरले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन नबायो । उसका लागि कप्तान रोहित शर्माले ६०, केएल राहूलले ४५, श्रेयस अय्यरले अविजित ३३ र मनिष पाण्डेले नटआउट ११ रन बनाए । बलिङमा न्यूजिल्याण्डका स्टक कग्लुजेनले २ र हमीश बेनटले एक विकेट लिए ।