‘प्लाज्मा थेरापी र रेमडिसिभरबाट शतप्रतिशत संक्रमित बचाउन सकिँदैन’


५ भदौ, काठमाडौं । संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जनक कोइराला २० वर्ष अमेरिकाको सिकागोस्थित साउथर्न इलिनो युनिभर्सिटीमा काम गरेर हालसालै नेपाल फर्किएका छन् ।

नेपालमा उनी कोभिड–१९ को संक्रमण देखिएसँगै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अनुसन्धानमा आवद्ध छन् । क्लिनिकल ट्रायल कन्सल्ट्यान्टका रुपमा उनले रेमडिसिभर र प्लाज्मा थेरापी अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले प्लाज्मा थेरापी र रेमडिसिभरलाई अनुसन्धानका लागि प्रयोग गर्ने भनिरहेको छ । यो अनुसन्धान कसरी हुन्छ र यसबाट को–को लाभान्वित हुन्छन् ? नेपालमा कोरोना संक्रमणबाट सिकिस्त बनेका बिरामीका लागि प्लाज्मा थेरापी र रेमडिसिभर प्रयोग गर्नेबारे स्वास्थ्य मन्त्रालयले कस्तो तयारी गरिरहेको छ ?

यिनै विषयमा केन्द्रित रहेर डा. कोइरालासँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :

कोभिड–१९ विरुद्ध रेमडिसिभर र प्लाजामा थेरापी उपचार पद्दतिले काम गरेको चर्चा छ, एनएचआरसीले क्लिनिकल ट्रायल गर्दैछ । अहिले के–कसरी काम भइरहेको छ ?

एनएचआरसीले कोभिड–१९ सम्बन्धी थुप्रै अनुसन्धान गरिरहेको छ । म डाक्टर भएको नाताले उपचारात्मक अनुसन्धानमा ‘प्रिन्सिपल इन्भेस्टिकेटर’ का रुपमा आवद्ध छु ।

कोरोना भाइरसविरुद्ध पूर्ण उपचार छैन । हाम्रो शरीरकै इम्युन सिस्टमले भाइरसलाई हराउने हो । तर, संक्रमित सिकिस्त हुँदा स्टोरोइड दिइन्छ, अक्सिजन दिइन्छ । अन्य औषधि पनि प्रयोग गरिन्छ । तर, भाइरस मार्ने अहिलेसम्म दुई उपचार पद्दतिले राम्रो नतिजा दिएको छ, त्यो प्लाज्मा थेरापी र रेमडिसिभर हो ।

यसबाहेक अन्य उपचार पद्दतिले पनि काम गरेको छ । तर, सबै उपचार पद्दतिले सबै देशमा मान्यता पाएका छैनन् । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रसन (एफडीए) जस्ता संस्थाहरुले मान्यता दिएपछि मात्रै त्यस्ता औषधिलाई मान्यता दिइन्छ । नेपालमा पनि औषधि व्यवस्था विभागले पनि साधारणतया एफडीएले मान्यता दिएका औषधिहरुलाई सहजै मान्यता दिन्छ ।

तर, योपटक एफडीएले रेमडिसिभर र प्लाज्मा थेरापीलाई आकस्मिक प्रयोजनका लागि मात्र प्रयोग गर्न अनुमति दियो । हामीकहाँ आकस्मिक प्रयोजनका लागि अनुमति दिने कानूनी व्यवस्था नै रहेनछ । यसले पनि केही अन्योल भयो । तर, हामीले गाइडलाइन बनायौं र स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्‍यो ।

यो उपचारचाहिँ कति जटिल हो ?

कोरोनाको संक्रमण भएर निको भएको मानिसमा त्यसको एण्डीबडी विकास हुन्छ । संक्रमण निको भएको मानिसबाट २ देखि ४ हप्तापछि मात्र रगत लिन मिल्छ । यसरी निकालिएको रगतबाट रातो सेल हटाएर २०० एमएल ‘प्लाज्मा’ निकालिन्छ र, संक्रमितलाई दिइन्छ । यो एकदमै सस्तो र हामीले गर्न सक्ने उपचार हो ।

उसो भए संक्रमितको संख्या बढ्दै गएका बेला प्लाज्मा थेरापीबाट सफल उपचार गर्न सकिन्छ भनेर खुशी हुने कि नहुने ?

कुनै पनि उपचार पद्दति नभेट्टाएर अलमल परेको अवस्थामा केही उपचार पद्दतिले काम गरिरहेको खबर आफैंमा सुखद हो । तर, प्लाज्मा थेरापीका केही समस्या छन् । त्यसमा पनि मुख्य समस्या के भइदियो भने डोनर अर्थात प्लाज्मा दिने मानिस भेट्टाउनै मुस्किल भएको छ ।

प्लाज्मा दिनका लागि कोरोना संक्रमण भएर निको भएका व्यक्ति हुनुपुर्छ र उसको पीसीआर नेगेटिभ आएको हुनुपर्छ । एचआईभी जस्ता रोग हुनुहुँदैन । अरुले प्लाज्मा दिन मिल्छ । तर, कतिजना निको भएर गाउँ गइसकेका छन्, कतिजना ‘प्लाज्मा’ दिन तयार छैनन् । यसले गर्दा ‘डोनर’ पाउन गाह्रो छ ।

जब कि प्लाज्मा डोनरहरुलाई एनएचआरसीले आफैंले ‘ब्लड ब्यांक’सम्म पु¥याइदिन्छ । नेपाल रेडक्रसको ब्लड बैंकले रगत झिकेर ‘प्लाज्मा’ छुट्याइदिन्छ । र, चिकित्सकहरुले पनि एक–डेढ घण्टामा संक्रमितलाई प्लाज्मा दिन्छन् ।

अहिलेसम्म देशभरका १५ वटा अस्पताल प्लाज्मा थेरापी गर्न सहमत भएका छन् । तर, सबैभन्दा गाह्रो काम भनेकै प्लाज्मा डोनर जुटाउनु हो । डोनरहरु भेटिने हो भने प्लाज्मालाई ब्लड बैंकमा राख्न मिल्छ । त्यसलाई ‘फ्रोजन प्लाज्मा’ भनिन्छ, जुन चाहिएका बेला प्रयोग गर्न सकिने भएकाले त्यसमा पनि काम गर्दैछौं ।

डोनर नै मुख्य समस्या हो भने त संक्रमित निको भएर जाने बेलामै आवश्यक चेकजाँच गर्ने र प्लाज्मा दिन सहमत गराउने व्यवस्था मिलाउन सकिन्न ?

हो, अहिले हामीलाई भएको समस्या यही हो । एउटा अस्पतालबाट निको भएर गएको हुन्छ । अनि एनएचआरसीले सम्पर्क गर्दा प्लाज्मा दिन सहमत नहुने रहेछन् ।

तपाईहरुले भनेजस्तै सम्बन्धित अस्पताल र चिकित्सकले नै निको भएर जानेबेलामै प्लाज्मा थेरापीको काउन्सिलिङ गर्ने हो भने सहज हुने देखियो । त्यसैले हामीले पछिल्लो हप्ता कोभिडका बिरामीहरुको उपचार गर्ने सबै अस्पतालहरुलाई निको भएर जाने संक्रमितलाई प्लाज्मा थेरापीबारे काउन्सिलिङ गर्न र उनीहरुको सम्पर्क नम्बर पनि लिएर राख्न आग्रह गरेका छौं ।

कतिपयले यसअघि नै गर्नु पनि भएको छ । टेकु अस्पतालका डाक्टर अनुप बास्तोला, ह्याम्स अस्पतालका डाक्टर अनुप सुवेदी र ग्राण्डी अस्पतालका डाक्टर विपीन अधिकारी आफैं सक्रिय हुनुहुन्छ, बिरामीहरुसँग सम्पर्कमा रहनुभएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म १८ हजारभन्दा बढी संक्रमित निको भइसके । तर, केही सय संख्यामा पनि प्लाज्मा दिन नभेटिनु भनेको चेतनाको कमी पो हो कि ?

अब रेमडिसिभरको कुरा गरौं । सरकारले समयमै यो औषधि ल्याउने अनुमति नदिँदा कालोबजारी भयो भन्ने गुनासो पनि धेरै आएको छ । खास कुरो के हो ?

यो प्लाज्मा थेरापीभन्दा बिल्कुल फरक हो । रेमडिसिभर ‘एन्टी भाइरल’ औषधि हो र अहिले संसारभरि निस्किएको औषधिमध्ये कोरोनामा यो सबैभन्दा प्रभावकारी देखिएको छ । तर, यो पनि प्लाज्मा थेरापीजस्तै पूर्ण उपचार होइन । यो पनि आईसीयूमा राखिने सिकिस्त बिरामीलाई मात्र प्रयोग गरिन्छ ।

सुरुमा विश्व स्वास्थ्य संगठनको सोलिडारिटी ट्रायलमार्फत रेमडिसिभर ल्याउने कुरा भएको थियो, पछि रोकियो । अहिले सरकारले अनुसन्धानका लागि ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ । औषधि व्यावस्था विभाग र एनएचआरसीको समन्वयमा यो औषधि ल्याउने काम अन्तिम चरणमा छ ।

अनुसन्धानका लागि ल्याइने भनेपछि सबै संक्रमितले रेमडिसिभर नपाउन पनि सक्छन् ?

रिसर्चकै रुपमा भने पनि संक्रमितकै जीवन बचाउने प्रयासकै रुपमा यो औषधि ल्याउन लागेका हौं । त्यसैले, आवश्यक पर्ने सबैलाई निःशुल्क उपलब्ध गराउने प्रयास हुनेछ । यसमा हाम्रो योजना के छ भने आईसीयूमा भर्ना हुने संक्रमितहरुलाई पहिले रेमडिसिभर दिने र त्यसपछि प्लाज्मा थेरापी गर्ने । अरु, अस्पतालले रिसर्च गर्छौं भनेर एनएचआरसीसँग स्वीकृति लिए भने उनीहरुलाई पनि अनुमति दिक्छौं ।

रेमडिसिभर र प्लाज्मा थेरापी आवश्यक पर्ने सबै संक्रमितले पाउने अवस्था कहिले आउँछ ?

प्लाज्मा थेरापी शतप्रतिशत संक्रमितले गर्न सक्ने अवस्था आउन गाह्रो छ किनकि डोनर भेट्न मुस्किल छ । जबसम्म प्लाज्मा डोनर पाइँदैन, तबसम्म यो सम्भव हुन्न । त्यसैले बढीभन्दा बढी सिरियस बिरामीलाई प्लाज्मा थेरापी गर्ने र आवश्यक पर्ने सबै बिरामीलाई रेमडिसिभर दिने हाम्रो योजना हो । पहिलो चरणमा १०० संक्रमितलाई पुग्ने रेमडिसिभर आउँछ होला ।

दुबै क्लिनिकल ट्रायलबाट गम्भीर अवस्थामा पुगेका कति संक्रमितलाई बचाउन सकिएला ?

संसारका अरु देशमा पनि प्लाज्मा थेरापी रेमडिसिभर क्लिनिकल ट्रायलका लागि यसको प्रयोग भइरहेको छ । हाम्रो अध्ययनले राम्रो नतिजा दिएको छ । तर, शतप्रतिशतलाई बचाउन सकिन्न । हाम्रो प्रयास भनेको धेरैभन्दा धेरै संक्रमितलाई यो विधिबाट उपचार गर्ने र धेरैभन्दा धेरै संक्रमितलाई बचाउने नै हो । यसमा आशावादी त हुन त सकिन्छ, तर शतप्रतिशत खुशी हुने अवस्था छैन ।

Source:अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close