कृषिप्रधान देश, तर मासिक १५ अर्बभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात !


काठमाडौं । मुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ। बजारको मागअनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पौने खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको हो।

सरकारले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, दूधलगायत वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने बताउँदै आएको छ। सरकारले गत साल बनाएको मध्यकालीन त्रिवर्षीय कृषि योजनामा आव ०७७/७८ सम्म कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य छ।

भन्सार विभागका अनुसार चालु आव २०७६/७७ को पहिलो पाँच महिनामा ७७ अर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। यहीं उत्पादन गर्न सकिने चामल, गहुँ, तरकारी, फलफूल, खाने तेल, माछामासु, जीवित पशु, चिया, कफी, खाद्यान्नको बीउलगायत पनि उच्च मात्रामा आयात भएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका पूर्व सचिव सुरोज पोखरेल किसानलाई कृषिमा आकर्षित गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको हो। सरकारले खर्च गर्ने बजेट र सेवा लक्षित समुदायमा पु-याउन नसकेकाले उत्पादन नबढ्दा विदेशबाट आयात गर्नुपरेको पोखरेलको दाबी छ। ‘८५ प्रतिशत किसानले आवश्यकताअनुसार सरकारी सेवासुविधा पाउन सकेका छैनन्,’ पोखरेलले भने, ‘उत्पादन बढाउन लक्षित समुदायमा अनुदान पु-याउनुपर्छ।’ पोखरेलका अनुसार अहिलेको अनुदान वितरण पद्धति पनि परिवर्तन गर्नुपर्छ। याे खबर नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button